परिचय:

प्रदेश सरकार तथा स्थानीय तहको क्षमता विकास गर्ने मूलभुत उद्देश्य राखी प्रदेश सरकार, कोशी प्रदेशद्वारा (प्रदेश प्रशिक्षण केन्द्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७७) को रुपमा कानूनी व्यवस्था गरी विधिवत रुपमा वि.सं. २०७७ असोज १८ गते एक प्रशिक्षण केन्द्रको रुपमा स्थापना भएकोमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७९ ले मिति २०७९/०४/३० मा प्रतिष्ठानलाई प्रदेशको एक अविच्छिन्न उत्तराधिकारीवाला स्वशासित सङ्गठित संस्थाको रुपमा स्थापित गरेको हो। प्रदेश र स्थानीय तहको समग्र क्षमता अभिवृद्धिका लागि सो अन्तर्गतका निकाय एवम् सार्वजनिक संस्थाहरूमा आवद्ध मानव संशाधनलाई प्रशिक्षण प्रदान गर्ने, प्रदेश सरकार तथा स्थानीय तहको क्षमता विकास तथा सशक्तीकरण गर्ने, सार्वजनिक पदाधिकारीका लागि तालिम सञ्चालन गर्ने, प्रदेश तथा स्थानीय शासन सम्बन्धी अध्ययन एवम् अनुसन्धान गरी सम्बन्धित निकायलाई परामर्श दिने उद्देश्य यस प्रतिष्ठानको रहेको छ। नेपालको सङ्घीय व्यवस्थाको सफलताका लागि तीन वटै तहको शासकीय संरचनाको सशक्तीकरण तथा क्षमता विकास, सेवा प्रवाहमा सुशासन अभिवृद्धि गर्नु अपरिहार्य छ । यसै सन्दर्भमा प्रदेश तथा स्थानीय तहको तथा त्यहाँ संलग्न जनप्रतिनिधि तथा कर्मचारीहरूको प्रशासनिक, आर्थिक, राजनैतिक, व्यवस्थापकीय क्षमता विकास क्षेत्रमा प्राज्ञिक रुपमा प्रभावकारी भूमिका निर्वाह गरी आफूलाई एक उत्कृष्ट सिकाइ केन्द्र (Excellence Center) को रूपमा विकास गर्ने लक्ष्य यस प्रतिष्ठानले लिएको छ ।

उद्देश्य

  • प्रदेश तथा स्थानीय तह अन्तर्गतका सरकारी निकाय एवम् प्रदेश भित्रका सङ्गठित संस्थाहरूको व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्ने,
  • उक्त सरकारी निकाय एवम् सङ्गठित संस्थाहरूमा आवद्ध मानव संशाधनलाई व्यवस्थित एवम् योजनावद्ध तरिकाले प्रशिक्षण प्रदान गर्ने, (सेवा प्रवेश, सेवाकालीन तथा विषयगत तालिमहरू)
  • प्रशिक्षण एवम् प्रशिक्षकको स्तर तथा मापदण्ड निर्धारण गर्ने,
  • प्रशिक्षण प्रदायक संस्थाहरूको नियमन गर्ने,
  • विभिन्न विषयमा अध्ययन अनुसन्धान गर्ने,

प्रतिष्ठानको संचालनका मार्गदर्शक सिद्धान्त

प्रतिष्ठान देहाय बमोजिमको मार्गदर्शक सिद्धान्त अनुरुप संचालन हुनेछ;

  • प्रतिष्ठान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीका आधारभूत मुल्य, मान्यता र सिद्धान्तका अधारमा संचालन हुनेछ,
  • प्रतिष्ठानमा कर्मचारी भर्ना र नियुक्ति खुला र समावेशी सिद्धान्तका आधारमा प्रतियोगितात्मक परिक्षाबाट हुने,
  • प्रतिष्ठान भ्रष्टाचारमुक्त, गैर राजनीतिक, निष्पक्ष, सक्षम, दक्ष, व्यावसायिक र प्रविधिमैत्री हुने,
  • प्रतिष्ठानले विभिन्न तहका सङ्घीय इकाईमा रहने प्रशिक्षण प्रदायक निकायहरु बीच समन्वय र सहकार्यको माध्यमबाट सहयोगात्मक सम्बन्ध विकास र विस्तार गर्ने र गुणस्तर व्यवस्थापन हुने,
  • प्रतिष्ठानको संचालनबाट प्रदेश तथा स्थानीय तहका निर्वाचित, मनोनित तथा नियुक्त पदाधिकारी र कर्मचारीहरुको कार्य जिम्मेवारी प्रभावकारी रुपमा सम्पादन गर्न आवश्यक पर्ने क्षमताको विकास हुने,
  • प्रशिक्षण कार्यक्रम प्रदेश, स्थानीय तह र सार्वजनिक निकायको संस्थागत क्षमता अभिबृद्धि र विकास कार्यक्रमसँग आबद्ध हुने,
  • प्रतिष्ठानबाट प्रशिक्षण सम्बन्धी विषयबस्तुहरुको निरन्तर अध्ययन, अनुसन्धान, परीक्षण, पाठ्यक्रम तथा प्रशिक्षण सामाग्री तयारी र कार्यतालिका निर्धारण हुने,
  • प्रतिष्ठानबाट प्रदेश निजामती सेवा तथा स्थानीय सेवाका कर्मचारीको लागि सेवा प्रवेश तथा सेवाकालीन प्रशिक्षण संचालन हुने

सोंच (Vision):अनुसन्धान, नवप्रवर्तन, ज्ञान व्यवस्थापन, तथा गुणस्तरीय क्षमता विकास गर्दै सुशासन, प्रभावकारी सार्वजनिक प्रशासन र दिगो विकासका लागि नेतृत्वदायी तथा उत्कृष्ट प्रादेशिक प्रतिष्ठानको रुपमा स्थापित हुने |

प्रतिष्ठानको लक्ष्य (Goal): प्रतिष्ठानलाई वित्तीय, प्राविधिक र व्यवस्थापकीय दृष्टिले सक्षम, आत्मनिर्भर, आधुनिक र परिणाममुखी सार्वजनिक संस्थाको रुपमा विकास गरी अनुसन्धान, नीति विश्लेषण, प्रशिक्षण, परामर्श सेवा तथा संस्थागत विकासका माध्यमबाट प्रदेश सरकार र स्थानीय तहको कार्यसम्पादन क्षमता अभिवृद्धि गर्ने